दर्ताद्वारा विवाह गर्ने कार्यविधिः

Procedure process concept for work instruction

कुनै पुरुष र महिलाले दर्ताद्वारा विवाह गर्न चाहेमा देहायको विवरण खुलाई निवेदन दिनु पर्छ ।

  • आफ्नो नाम थर उमेर ठेगाना पेशा
  • बाबु आमा बाजे बज्यैको नाम
  • अघि विवाह भए वा नभएको र विवाह भएको भए वैवाहिक सम्बन्ध अन्त्य भएको व्यहोरा
  • कम्तीमा दुई जना साक्षीको नाम
  • निवेदन दिनका लागि पुरुष वा महिला वा दुवै निवेदन दिनु अघि सम्बन्धित जिल्लामा कम्तीमा १५ दिन देखि रहे बसेको हुनु पर्छ ।
  • विदेशी र विदेशी तथा विदेशी र नेपाली नागरिकले नेपालमा विवाह गर्दा निजहरुले आ- आफ्नो नागरिकता रहेको मुलुकको कानून बमोजिम निर्धारित सक्षमता योग्यता र शर्त पालना गर्नु पर्दछ ।
  • विदेशी नागरिकले आफ्नो देशको कानून बमोजिम विवाह गर्न योग्य र सक्ष्म भएको कुराको स्वःघोषणा गरी आफ्नो देशको विवाह सम्बन्धी कानूनको नेपालीमा अनुवाद गरिएको प्रतिलिपि निवेदन साथ पेश गर्नुपर्छ ।
  • निवेदन जाँच गर्दा कानून बमोजिमको रित पुगेको देखिएमा निवेदन दर्ता किताबमा दर्ता गरी इजलास समक्ष पेश गर्नुपर्छ ।

विवाहको लागि परेको निवेदनका सम्बन्धमा छानविन गर्दा निवेदन माग बमोजिम दर्ताद्वारा विवाह हुने अवस्था देखिएमा सोही ऐनको दफा ७९ बमोजिमको विवाहको सहमति पत्र तयार गरी पुरुष महिला र उपस्थित साक्षीको सहीछाप गराई विवाह दर्ता किताबमा दर्ता गरी विवाहको प्रमाणपत्र दिने निर्णय गर्नुपर्छ ।

सहमतिपत्र तयार गरी प्रमाणित गर्नु पर्नेः

  • निवेदक वीच विवाह हुने निर्णय भएमा निवेदनमा उल्लेखित कुरा र विवाह गर्ने पक्षहरु कानून बमोजिम एक अर्कालाई पति पत्नीको रुपमा स्वीकार गर्न मन्जुर भएको व्यहोरा समेत खुलाई विवाहको सहमतिपत्र तयार गरी आफ्नो रोहवरमा निजहरु तथा उपस्थित साक्षीहरुको सहीछाप गराई त्यस्तो सहमतिपत्रमा न्यायाधीशले समेत प्रमाणित गर्नुपर्छ ।
  • सहमतिपत्रमा सहिछाप गराई सकेपछि त्यस्तो विवाह दर्ता किताबमा दर्ता गरी सो दर्ता किताबमा न्यायाधीश विवाह गर्ने पक्ष तथा उपस्थित साक्षी समेतको सहीछाप गर्नु वा गराउनु पर्छ ।
  • विवाहको सहमतिपत्रमा सहीछाप गराई सकेपछि त्यस्तो विवाहलाई विवाहको दर्ता किताबमा दर्ता गरी विवाह गर्ने पक्ष र साक्षीको हस्ताक्षर र ल्याप्चे सहीछाप गराई न्यायाधीशले प्रमाणित गर्नुपर्छ ।

विवाह दर्ता प्रमाणपत्र

  • विवाह दर्ता गरिसकेपछि सम्बन्धित अधिकारीले विवाह दर्ताका पक्षहरुलाई नेपाल सरकारले तोकिदिए बमोजिमको ढाँचामा विवाह दर्ताको प्रमाणपत्र दिनु पर्छ ।

विवाह दर्ताको प्रमाणपत्र पाएको दिन देखि निवेदकहरुको विवाह भएको मानिने छ ।